म्याग्दीमा तुण्डी पावरका जलविद्युत आयोजना धमाधम निर्माण हुँदै
पाेखरा | पुस २३, २०७९
म्याग्दी: म्याग्दीको रघुगंगा गाउँपालिकाको माथिल्लो भेग हुँदै बग्ने राहु घाट नदीमा निर्माणाधीन दुई जलविद्युत आयोजनाको निर्माण तीव्र पारिएको छ । तुण्डी पावर कम्पनीले दुई वर्षअघि ३७.५ मेगावाट क्षमताको राहु घाट मंगले र यसैको क्यसकेट आयोजना ४८.५ मेगावाट क्षमताको अपर राहु घाट जलविद्युत आयोजनाको निर्माण थालेको थियो । दुवै आयोजना निर्माणलाई कम्पनीले एकसाथ अगाडी बढाएको छ ।
आयोजना स्थल भौगोलिक रूपमा विकट मानिएको रघुगंगा गाउँपालिका ७ चिम खोलामा पर्दछ । भीर पहरा फुटालेर आयोजना स्थलसम्म पहुँच मार्ग निर्माण पश्चात् दुवै आयोजनाको काम धमाधम अघि बढेको छ ।
कम्पनीले आयोजनाको सुरुङ,बाँध स्थलमा हेडवक्र्सका संरचना र विद्युत गृहको निर्माणलाई तीव्रता दिएको तुण्डी पावर कम्पनीका इन्जिनियर इन्द्र ढकालले जानकारी दिनुभयो । दुवै आयोजनामा एक हजार जना दक्ष जनशक्ति र उपकरणहरू परिचालन गरेर निर्माण कार्यलाई अगाडि बढाइएको उहाँले बताउनुभयो । भौगोलिक रूपमा विकट क्षेत्रमा आयोजना निर्माण गर्दा समस्या र चुनौती भए पनि लक्ष्य अनुसार निर्माण कार्य सन्तोषजनक रहेको उहाँको भनाई छ ।
राहु घाट मङ्गलेको पाँच हजार तिन सय मिटर सुरुङ मध्य अहिले सम्म दुई हजार चार सय मिटर सुरुङ खन्ने काम सकिएको छ । ‘दुई वटा अडिटबाट सुरुङ खन्ने काम भएको छ,कम्पनीका इन्जिनियर ढकालले भन्नुभयो ‘अबको ११ महिनाभित्र सुरुङ ब्रेकथ्रु गर्ने लक्ष्य राखेका छौँ ।’ वडा नम्बर ८ कुइनेमंगले र ७ नम्बर वडा चिम खोलाको सिमाना बन्दी घाटमा आयोजनाको बाँध स्थल रहेको छ ।
चिम खोलाको बगर खोलाको दोभान मलाङमा रहेको विद्युतगृहको निर्माणका लागि जग खन्ने काम थालिएको आयोजनाले जनाएको छ । समग्र रूपमा आयोजनाको अहिलेसम्म ४४ प्रतिशत भौतिक प्रगति भएको आयोजनाका इन्जिनियर ढकालले बताउनुभयो । आगामी ३० महिनाभित्र आयोजना सम्पन्न गर्ने गरी निर्माणलाई तीव्रता दिइएको उहाँको भनाई छ ।
यसैको क्यसकेट आयोजना ४८.५ मेगावाट क्षमताको अपर राहु घाट जलविद्युत आयोजनाको निर्माणलाई पनि सँगसँगै अगाडि बढाइएको उहाँको भनाई छ । ६ हजार तिन सय मिटर लामो सुरुङ मध्य तिन हजार एक सय मिटर सुरुङ खन्ने काम सकिएको हाई हिमालय कन्स्ट्रक्सन इन्जिनियर जीवन लामाले बताउनुभयो । दुई वटा अडिटबाट सुरुङ खन्ने काम भइरहेको उहाँको भनाई छ । राहु घाट मङ्गलेको विद्युतगृहबाट निस्केको पानीलाई सिधै यो आयोजनाको सुरुङमा हालेर दग्नामको पुछारमा रहेको विद्युतगृहमा पानीलाई ३६२ मिटर उचाइबाट खसालेर विद्युत् निकालिने छ ।
दग्नामको पुछारमा रहेको विद्युतगृह निर्माणका लागि कात्तिक देखि पहरा कटान थालिएको छ । आगामी दुई महिना भित्रमा पहरा कटान सकेपछि विद्युतगृहका संरचना निर्माण थालिने निर्माण कम्पनी हाइ हिमालय कन्स्ट्रक्सन साइड इन्चार्ज भुवनाथ अधिकारीले बताउनुभयो ।
विद्युतगृह निर्माणका लागि क्रसर प्लान्ट निर्माण,दुई वटा एक्स्काभेटर लगायतका उपकरण र जनशक्ति परिचालन गरिएको छ । यो आयोजनाको अहिले सम्म ३७ प्रतिशत भौतिक प्रगति भएको तुण्डी पावर कम्पनीका इन्जिनियर ढकालले बताउनुभयो । आगामी तिन वर्ष भित्र आयोजना निर्माण सम्पन्न गर्ने कम्पनीले लक्ष्य राखेको छ ।
दुवै आयोजना निर्माणका लागि आयोजना प्रवर्द्धक कम्पनीले रामेछाप शेर्पा कन्स्ट्रक्सन,हाई हिमालय हाइड्रो कम्पनी र साउथ एसियन इन्फास्ट्रक्चरसँग ठेक्का सम्झौता गरेको छ । दुवै आयोजनाको अनुमानित कुल लागत करिब ७ अर्ब रहेको छ ।
आयोजनाबाट उत्पादन हुने विद्युत् २२० केभीए क्षमताको दाना–खुर्कोट प्रसारण लाइनबाट केन्द्रीय प्रसारण लाइनमा जोडिनेछ । आयोजनाले मौवा फाँट–दग्नाम–दर्मीजा–चिम खोला हुँदै बाँध निर्माण स्थलसम्म दुई वर्ष अघि पहुँच मार्ग निर्माण गरेको थियो ।
पोखरा । उच्च शिक्षाका लागि विदेश जान चाहने विद्यार्थीहरूलाई लक्षित गर्दै मिसन युएसए एजुकेशन कन्सल्टेन्सीले पोखरामा आफ्नो चौथो शाखा विस्तार गरेको छ । पोखराको महेन्द्रपुलमा आज एक विशेष का...
पोखरा कलेज अफ म्यानेज्मेण्टद्वारा आयोजित प्रथम अन्तर कलेज टिचर्स फुटसल प्रतियोगितामा न्यू ग्यालेक्सी च्याम्पियन बनेको छ । फिष्टेल एकेडेमीलाई ३–१ गोलले पराजित गर्दै न्यू ग्यालेक्सिले उपाधि जितेको ह...
चितवन- यस बर्षको जाउँ है पोखरा अभियान शनिबार चितवनको पर्यटकीय केन्द्र सौराहबाट सुरु भएको छ । कालीका नगरपालिकाका प्रमुख विनोद रेग्मीले अभियान अन्तर्गत सौराहमा आयोजित छलफल कार्यक्रमको उद्घाटन गरे ।...

